तामाङ जातिको विवाह संस्कारमा बेहुला पक्षले ल्याएको कोसेली ग्रहण गरेपछि बेहुली पक्षबाट भनिने कथन छ – हाम्री छोरी आजबाट ज्वाइँलाई दियौं । बाउ र आमाको रगत आजबाट फरक भयो तर रूइ ( हाड ) चाहिँ माइतीकै अधीनमा रहनेछ । रूइ अर्थात् हाड ( थर ) माइतीकै अधीनमा रहने यही मान्यताका कारण तामाङ महिलाको विवाह पश्चात् पनि थर परिवर्तन हुँदैन । उनीबाट जन्मिएका छोराछोरीले मात्रै बाबुको थर प्राप्त गर्छन् । विवाहित महिलाको मृत्यु भएपछि दाहसंस्कारमा माइतीको उपस्थिति अनिवार्य छ । कथंकदाचित तामाङ चेलीको दाहसंस्कारमा माइतीको उपस्थिति संभव भएन भने लाशबाट अस्थि झिकेर राखिन्छ पछि माइतीको सहभागितामा सेलाउने गरिन्छ । यही संस्कृति नै रुइबा हो ।
चेतनाथ आचार्यले यो उपन्यासमा रुइबा’लाई बिम्बका रूपमा प्रयोग गरेका छन् । उपन्यासकी मुख्य पात्र ‘ न्याउली वर्षोदेखि चीनको जेलमा छिन् । लागू पदार्थ ओसारपसार गर्ने दलालहरूको चङ्गुलमा परेर उनी चीनको जेल जीवनमा पुगेकी हुन् । जीवनको उर्वर समय जेलमा बिताएकी न्याउलीले आफ्नो बालापनदेखि जेल – जीवनसम्म गरेको स्मरण नै यस उपन्यासमा कथा वाचनको फरक शैली हो । न्याउलीको स्मरणमा आउने घटनाहरूले तामाङ जातिका संस्कार , संस्कृतिहरूलाई भन्छन् , जीवन पद्धति र पीडाहरूलाई बताउँछन् , अभावहरूका विरुद्ध लड्ने सङ्घर्षहरूलाई उतार्छन् , एक निर्दोष मान्छे कसरी दलालहरूको जालो र चङ्गुलमा पर्छ भन्ने रहस्यलाई उद्घाटन गर्छन् ।
‘ रुइबा सामाजिक उपन्यास हो । सामाजिक यथार्थ , न्याय र मुक्तिको आख्यान हो । आम पाठकहरूका लागि नयाँ स्वाद सहितको विषय हो ।